अनुसन्धान केन्द्रहरु देश र विश्वविद्यालयका आधारस्तम्भ : त्रिवि उपुकलपति

अनुसन्धान केन्द्रहरु देश र विश्वविद्यालयका आधारस्तम्भ : त्रिवि उपुकलपति

2026-07-17

अनुसन्धान केन्द्रहरु देश र विश्वविद्यालयका आधारस्तम्भ : त्रिवि उपुकलपति

काठमाडौं । साउन १

त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) को ५५ औं बार्षिकोत्सव समरोहलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले अनुसन्धान केन्द्रहरु विश्वविद्यालय र राज्यको लागि आधारस्तम्भ भएकोले त्रिविका चार() वटै अनुसन्धान केन्द्रहरुमा उत्कृष्ट अनुसन्धान हुने वातावरण सिर्जना गर्ने बताउनुभयो । अनुसन्धान र नवप्रवर्तन मार्फत अनेकौ  सम्भावना उजागर हुँदै जाने र अनुसन्धानको क्षेत्रमा आफुमा गहिरो रुचि र उत्साह रहेको धारणा व्यक्त गर्नुहुँदै,  विज्ञ प्राध्यापक र अनुसन्धानकर्मी लगायत सवैको सहयोगमा उपलब्ध भौतिक,आर्थिक र मानविय स्रोत र साधनको समुचित व्यवस्थाप गरी नेतृत्वदायी भूमिका निर्वाह प्रतिवद्बता व्यक्त गर्नुभयो  । सिनासको बार्षिकदिवसको उक्त अवसरमा नवनियुक्त उपकुलपति प्रा.डा थापाले अनुसन्धान केन्द्रहरु स्थापना गरेर देश, समाज र समग्र प्राज्ञिकक्षेत्रमा योगदान गर्नुहुने सबै अग्रज प्राध्यापहरुलाई स्मरण गर्नुभएको थियो ।

वि.स २०२९ साल साउन १ गते  नेपाल र एसियाली अध्ययन संस्थान (INAS) का रुपमा स्थापना भएर वि.स २०३४ भदौ २३ नेपाल र एसियाल अध्ययन केन्द्र (CNAS) मा रुपान्तरण भई क्रियाशिल त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण अनुसन्धान केन्द्रको रुपमा रहेको सिनासले भाषा,संस्कृति, कला, समाज र परराष्ट्र लगायतका सामाजिक विषयहरुमा प्राज्ञिक अनुसन्धान गर्दै मुलुकको थिङ्क ट्याङ्कको रुपमा कार्य गर्दै आइरहेको छ ।  ५५ ‌औं बार्षिक दिवसलाई सम्वोधन गर्नुहुँदै सिनासका कार्यकारी निर्देशक डा.मृगेन्द्र बहादुर कार्कीले अनुसन्धान र प्राज्ञिक कार्यमा सिनासको गरिमा र योगदानको संक्षिप्त चर्चा गर्नुहुँदै अनुसन्धान केन्द्रहरुलाई नितिगत मार्गदर्शन,आर्थिक / प्रशासनिक सहयोग र शैक्षिक कार्यक्रम सञ्चालन गर्नका साथै विद्यावारिधि उपाधि प्रदान गर्ने अनुमतिको  व्यवस्था गरिदिनुहुन उपकुलपति समक्ष अनुरोध गर्नुभएको थियो ।

सिनासको ५५ औं बार्षिकोत्सव कार्यक्रममा पूर्व कार्यकारी निर्देशकद्बय प्रा.डा प्रेम कुमार खत्री र प्रा.डा निर्मलमान तुलाधर, Indian Council for Cultural Relation (ICCR) का अध्यक्ष  प्रा.डा अनिल कुमार महापात्रा, आर्थिक प्रशासन तथा अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक  प्रा.डा अर्जुन बराल, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)
का कार्यकारी निर्देशक प्रा.डा मीना राजभण्डारी, त्रिवि अन्तराष्ट्रीय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा विष्णुप्रसाद पाण्डे, जापानको हिरोसिमा विश्वविद्यालयवाट अवकाशप्राप्त प्राध्यापक डा. केशवलाल महर्जन, प्राध्यापकद्बय नोबेल किशोर राई र खगेन्द्र प्रसाद लुईंटेल लगायले अनुसन्धान क्षेत्रको गरिमामय इतिहास सदासर्वदा कायम गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । सिनासमा हाल २ वटा अन्तराष्ट्रीय र १ वटा राष्ट्रीय अनुसन्धान परियोजनाहरु सञ्चालनमा रहेका छन् ।